प्रमुख कार्यकारी अधिकृतको संदेश

जीवन विकास समाज (गैर सरकारी संस्था) द्वारा प्रवद्र्धित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकबाट (राष्ट्रियस्तर) “घ” वर्गको वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त गरी २०७५ फागुन १६ गतेदेखि गरिबी रहित नेपालको परिकल्पना सहित विपन्न परिवारको जीवनस्तर उकास्न निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको छ ।
समाजमा विद्यमान आर्थिक असमानतालाई न्यूनिकरण गर्दै शहरी क्षेत्र तथा सम्पन्न परिवारको मात्र पहुँचमा रहेका अत्यावश्यक सेवा-सुविधाहरू ग्रामीण क्षेत्र तथा विपन्न परिवारले पनि सहज रूपमा उपभोग गर्न सकुन भन्ने उद्देश्यका साथ वित्तीय सेवासँगै डिजिटल तथा सामाजिक सेवाहरू प्रदान गर्दै आएको छ । अर्थतन्त्रमा देखिएको सुस्तता, कर्जा जोखिम वृद्धि तथा केही व्यक्ति तथा समुहको निहित स्वार्थका लागि भएको लघुवित्त विरुद्धका गतिविधिका कारण आर्थिक वर्ष २०८१/८२ लघुवित्त क्षेत्रका लागि चुनौतीपूर्ण रह्यो । यस्ता परिस्थितिका बाबजुद जीवन विकासले विपन्न तथा सीमान्तकृत वर्गमा केन्द्रित वित्तीय सेवा, जिम्मेवार कर्जा प्रवाह तथा समावेशी आर्थिक सशक्तीकरण गर्ने आफ्नो मूल उद्देश्यमा दृढ रही सेवा प्रवाहलाई निरन्तरता दिएको छ । दिगो विकासको लक्ष्य (SDG) हासिल गर्न योगदान पुर्याउने उद्देश्यले Credit Plus Approach अवलम्बन गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र वातावरण संरक्षणका लागि विभिन्न कार्य गर्दे आएको छ । वित्तीय संस्थाले ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय स्तरमा गृहणी सदस्यहरुलाई आय आर्जन तथा उद्यमशीलता विकासका लागि मौलिक उत्पादन तर्फ प्रेरित गरिरहेको छ । साथै, सदस्य तथा समुदायमा वित्तीय साक्षरता अभिवृद्धि गरी सचेत वित्तीय व्यवहार, बचत गर्ने बानीको विकास र ऋणको सदुपयोग गर्ने संस्कारलाई प्रवद्र्धन गरिरहेको छ । वातावरण मैत्री आत्मनिर्भर गाँउ (Eco-Village) निर्माणको रणनीति मार्फत हरित ऊर्जा, वातावरणमैत्री कृषि र सामुदायिक सहकार्यलाई प्रवद्र्धन गर्दै समग्र ग्रामीण जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहेको छ ।
विश्वव्यापी रूपमा बढ्दो गरीबी, बेरोजगारी तथा जलवायु परिवर्तनका कारण मानव जीवनमा विभिन्न संकटहरू उत्पन्न भइरहेका छन् । यसै सन्दर्भमा संस्थाले घश्भचय (शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन) को अवधारणालाई व्यवहारमा उतार्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । भावी पुस्ताका प्रतिनिधि वर्तमान युवाहरूलाई 3Zero Club को माध्यमबाट संगठित गर्दै 3Zero World निर्माणतर्फ अग्रसर गराइरहेको छ । सबैभन्दा बढी युवाहरूलाई 3Zero Club मा समेट्न सफल भएकोमा यस संस्था सन् २०२२, २०२३ र २०२४ मा तीन पटक अन्तर्राष्ट्रिय रूपमा सम्मानित हुन सफल भएको छ ।
मानव संशाधनलाई संस्थाको मुख्य शक्ति मान्दै क्षमता अभिवृद्धि, नैतिक नेतृत्व र कार्यसम्पादनमा आधारित संस्थागत संस्कृति विकासमा निरन्तर लगानी गरिरहेको छ । साथै, नियमनकारी निकायको निर्देशनहरूको पूर्ण पालना गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रति संस्थाको प्रतिबद्धता कायम रहेको छ । आगामी दिनहरूमा जीवन विकासले युवामुखी रोजगारी सिर्जना, स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राख्नेछ । यसका लागि लघुवित्त, उद्यम विकास, डिजिटल वित्त, हरित तथा समावेशी वित्तका क्षेत्रमा तालिम, अनुसन्धान र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यसहित तालिम तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ ।
सञ्चालक समितिको मार्गदर्शन, नियमनकारी निकायको नियमन तथा पर्यवेक्षण, सेवाग्राही सदस्य तथा शेयरधनीहरुको विश्वास, कर्मचारीहरूको इमानदारीता तथा समर्पण र सरोकारवाला निकाय एवं शुभचिन्तकहरुको साथ र सहयोग प्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साझा प्रतिबद्धता र उत्तरदायीत्व सहितको अभ्यासका साथ जीवन विकास लघुवित्तलाई दिगो, समावेशी र सामाजिक रूपान्तरणमा योगदान गर्ने अग्रणी वित्तीय संस्थाका रूपमा अगाडि बढाउने हाम्रो दृढ विश्वास रहेको छ । धन्यवाद ।



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
ईमेल-info@jeevanbikasmf.com
Copyright © 2022 JBLBSL