स्वदेशको पसिना मुल्यवान
मेरो नाम आरती धिमाल हो । म अहिले मेरो परिवार सहित मेचिनगर नपा वडा न १३ स्थित तेलिबारी टोलमा बस्छु । मेरो परिवारमा १ छोरा, २ छोरी र श्रीमान सहित जम्मा ५ जना छौं । हाम्रो हालको पेशा होटल व्यवसाय हो । मानिसको जीवनमा धेरै उतार चढाव, समस्या र चुनौतीहरु आउने गर्छन्, जसले गर्दा उ एक संघर्षमय जीवन व्यतित गर्न वाध्य हुन्छ । तर समस्या आउदैमा आत्तिनु हुदैंन । धैर्यताका साथ सकरात्मक सोच बोकी अघि बढ्नाले पक्कै पनि जिन्दगीले छलाङ मार्न केहिबेर पनि नलाग्दो रहेछ । यहि संघर्षमय जीवनको मेरो आफ्नो भोगाईको बारेमा तपाईलाई छोटकरीमा बताउदैछु ।
मेरो घरको आर्थिक स्थिति निकै कमजोर थियो जसले गर्दा मैले धेरै पढ्न पनि सकिन । कक्षा ६ सम्म मात्र पढेको हुनाले जागीर खाएर परिवारमा केहि गर्ने सोच पनि सोचाइमा मात्र सिमित रह्यो । अनि विस २०५५ साल तिर १६ वर्षको उमेरमा १९ वर्षे लवनसीङ्ग धिमालसंग दाम्पत्य जीवनमा बाधिए । विवाह पश्चात छोराछोरीको भविष्य र पारिवारीक सुखको खोजीमा हामीले सल्लाह गरि ऋण काडी श्रीमान मलेसिया जानुभयो । विदेशमा पनि आफुले सोचेजस्तो कहा हुदो रैछ र अलिअलि कमाएको पैसा पनि डाका लागेर लुटेछन् र मेरो श्रीमानलाई मरणासन्न हुनेगरि कुटेर छाडिदिएछन ति पापीहरुले । त्यसपछि फेरि पैसा खोजेर श्रीमानलाई नेपाल फर्कायौं । अनि श्रीमान आफ्नै गाउंमा राजमिस्त्री,काठ मिस्त्रीको काम गर्न थाल्नुभयो । छोराछोरीको पढाई खर्च र अन्य सामान्य खर्चका लागि म आफैं ज्यालाबाट कमाउंथे । अनि २०६६ साल तिर, गाउंमा हामी जस्ता विपन्न वर्गको जीवन स्तर उकास्न सहयोग गर्ने जीवन विकास संस्था आएको र तालिम दिइरहेको कुरा छिमेकीबाट सुनी हामी तालिममा गयौं । संस्था राम्रो लागेकाले हामी पनि प्रवेश गरि नानीहरुको पढाइका लागि २०००० कर्जा पनि निकाल्यौं । त्यो कर्जाको किस्ता र घरको खर्च हामी २ जनाको कमाईबाट सजिलै पुग्थ्यो । तर पहिले विदेश जांदाको ऋण डल्लै बाकीं रहेकाले अब घरमा श्रीमान र ससुराको झगडा सुरुहुन थाल्यो । ऋणको बोझले गर्दा फेरि श्रीमान काम गर्न मुम्बई जाने निर्णय गर्नुभयो । त्यहाबाट पनि राम्रो उपलब्धी हुन नसकेपछी ३ महिना पछी गोजीमा जम्मा ५०० रुपैयां र लगाएको १ जोडी कपडा मात्र लिएर घर फर्कनुभयो । अब घर आउनासाथ हामीलाई ससुराले घरबाट निकालिदिनुभयो । साना बाल बच्चासगं हामी कहां जान सक्थ्यौं र ? त्यसपछि कतै नगई यहि बसेर केहि गर्ने विचार गर्याैं ।
मुम्बईमा भाडा माझ्ने काममा गएता पनि वंहाले ३ महिनामा होटलमा पकाइने सम्पुर्ण खानेकुराको पकाउने तरिका बनाएको देखेकै भरमा सिक्नुभएछ । फेरि जीवन विकासबाट ६०००० कर्जा लिएर ३०००० को एउटा छाप्रो निर्माण गर्याैं र बांकी ३०००० को होटल सन्चालनका लागि आवश्यक सामाग्री खरिद गर्याैं । बस्ने घर र होटल एउटैं भएकाले कहिलेकाही पानी परेको दिन सुत्ने ठाउंमा पानी जमेर छोराछोरीलाई काखमा सुताई रातभरी जागराम बस्नुपथ्र्याे । अर्थात हामीसंग एउटा सुत्ने खाट पनि थिएन । काम गर्दा गर्दै राती १०११ पनि बझेको पत्तै हुदैनथ्यो । यसरी दिनानुदिन मेहनत गर्दै गयौं । होटलको नामाकरणको लागि कुण्डली देखाउदा कान्छी छोरीको नामबाट शुभ हुनेकुरा पुरोहितले भनेपछि होटलको नाम हामीले परिना होटल राख्यौं । हाम्रो मेहेनत र लगनशिलताले हामीले बाहिरी व्यक्तिबाट लिएको कर्जा सबै चुक्ता गर्न सफल भयौं । अनि फेरी पुरानो कर्जा १ वर्ष भित्रै चुक्ता गरि रु.१ लाख लियौं र होटललाई अझ बढायौं ।
होटलबाट राम्रो आम्दानी आउन थालेपछि हामीले यसैलाई नै जीवन धान्ने आधार मानी अझै वृहत तरीकाले अगाडी बढाउने निर्णय गर्याैं । होटल कै देनबाट हामीले एउटा सुन्दर घर बनाउन सफल भयौंं । भगवान प्रति आस्था रहेकोले घर अगाडी एउटा मन्दिर पनि बनायौं । अनि हाम्रो आम्दानीको स्रोत होटललाई जीवन विकासबाट रु. ३ लाख कर्जा लिई नयां स्वरुप दिएका छौं । हरेक मान्छेको जीवनमा एउटा टर्निङ्ग पोईन्ट आउंछ, त्यतिबेला समयको साथ संगसगैं कसैको उचित साथ मिल्न सकेमा जीवनले सहि गति लिन्छ । गरिबीले छर छिमेकी, आफन्तसंगको दूरि बढाएको बेला जीवन विकास संस्थाले साथ दिएकै कारणले हामीले हाम्रो जीवन स्तर यति सम्म ल्याउन सफल भयौं । प्रगतिको खोजीमा आफ्नो देश छोड्नु पनि उचित उपाय त होइन रहेछ, स्वदेश मै आफ्नो दश नङ्गा्र ख्याउन सक्यो भने डलर यहि फलाउन सकिदो रहेछ । हाम्रो मेहनत र जीवन विकासको साथ कै कारण मैले आज यत्तिको सम्पत्ती जोड्न सफल भएकी छु । म यो संस्था प्रति आभार प्रकट गर्न चाहन्छु ।