प्रमुख कार्यकारी अधिकृतको संदेश

जीवन विकास समाज (गैर सरकारी संस्था) द्वारा प्रबर्धित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकबाट (राष्ट्रियस्तर) “घ”वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गरी २०७५ फागुन १६ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ ।

गरीबी रहित नेपाल निर्माणको मुख्य परिकल्पनाका साथ यस वित्तीय संस्थाले विपन्न परिवारको जीवनस्तर उकास्नका लागि वित्तीय सेवाको साथै डिजिटल र सामाजिक सेवाहरु प्रदान गर्दै आइरहेको छ । समाजमा रहेको आर्थिक असमानतालाई न्यूनिकरण गरी शहरी क्षेत्र तथा सम्पन्न परिवारको मात्र पहुँच रहेका अत्यावश्यक सेवा सुविधाहरुमा ग्रामिण क्षेत्र तथा विपन्न परिवारले समेत उपभोग गर्ने तथा स्थानीय स्तरमा आय आर्जन एवंम उद्यमशीलता विकासको अवसर सिर्जना गर्ने कार्य गरिरहेको छ ।

वित्तीय संस्थाले देश भित्र रहेको बेरोजगारी समस्या न्यूनीकरण गर्ने उद्देश्यका साथ स्वदेशमै रहेका तथा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लक्षित गरी उद्यमशीलता विकासमा जोड दिदैं आएको छ । ग्रामिण तथा विपन्न परिवारको वित्तीय साक्षरताको स्तर अभिबृद्धि गर्दै उनीहरुको आर्थिक तथा सामाजिक विकासको संवाहकका रुपमा आफ्ना क्रियाकलापहरु संचालन गरिरहेको छ ।

डिजिटल बैंकिङ्ग सेवाको विकास एवं प्रवर्धनका लागि वित्तीय संस्थामा आबद्ध सदस्यहरुलाई नगद रहित कारोवार गर्न उत्प्रेरित गर्दै ग्रामिण क्षेत्रमा सहज र सरल ढंगबाट डिजिटल सेवा उपभोगको वातावरण सिर्जना गरिरहेको छ । सदस्य तथा समुदायको हितलाई मध्यनजर गरी समृद्ध समाज निर्माणमा टेवा पुग्ने किसिमका नविनतम सेवाहरुको पहिचान गरी समय सापेक्ष सेवा प्रदान गर्न वित्तीय संस्था प्रयासरत रहेको छ ।

विश्वमा बढ्दै गईरहेको गरीबी, बेरोजगारी तथा जलवायु परिवर्तनका कारण मानव जीवनका संकटहरु बढिरहेका छन् । यसै सन्दर्भमा वित्तीय संस्थाले 3Zero (शुन्य गरीबी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जन) को अवधारणालाई सार्थक रुप दिन विभिन्न अभियानहरु संचालन गरिरहेको छ । भावि पिढीका रुपमा रहेका वर्तमान युवाहरुलाई 3Zero Club को माध्यमबाट संगठित गरी 3Zero World निर्माण तर्फ उन्मुख हुनका लागि अग्रसर बनाईरहेको छ ।

सबैभन्दा बढी युवाहरुलाई 3Zero Club मा समेट्न सफल भएकोमा यस वित्तीय संस्था सन् २०२२ र सन् २०२३ मा दुई पटक अन्तर्राष्ट्रिय रुपमा सम्मानित भएको छ । आर्थिक मन्दीबाट प्रभावित भएको बेला विभिन्न प्रकारका नकारात्मक भ्रम फैलाएका कारण लघुवित्त क्षेत्र पनि अत्यन्त प्रभावित भएको छ । आर्थिक मन्दीले सदस्यहरुको व्यापार व्यवसाय नै बन्द भएको तथा बन्द हुने अवस्थामा रहेको, सदस्यहरु मनोवैज्ञानिक रुपमा त्रासको अवस्थामा रहेकोले यस्तो असहज परिस्थीतिमा सदस्यहरुको घरघरमा पुगी उनीहरुको आवश्यकता अनुसार किस्तामा सहजता गर्ने, बन्द भएका वा बन्द हुने अवस्थामा रहेका व्यापार व्यवसाय पुनः सुचारु गर्न सहयोग गर्ने, सचेतनाका अभियानहरु संचालन गरी भ्रम चिर्ने तथा नियमित वित्तीय सेवा प्रदान गरी ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने हाम्रो मुख्य प्राथमिकता रहको छ ।

अन्त्यमा, यस वित्तिय संस्थामा आवद्ध भई अनुशासन, लगनशिलता र इमान्दारीता पूर्वक निरन्तर रुपमा कारोवार गर्दै साथ र सहयोग प्रदान गर्ने सदस्य तथा परिवारजन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । वर्तमान जटिल परिस्थीतिमा लघुवित्त क्षेत्रको संरक्षण गर्दै सदस्य केन्द्रीत भई कार्य गर्ने सम्पुर्ण कर्मचारीहरुको भुमिकालाई उच्च सम्मान व्यक्त गर्दछु । साथै नियमनकारी निकाय, सरकारी/गैरसरकारी संस्था, सरोकारवाला निकाय, शेयरधनी, संचालक समितिका पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी तथा शुभ चिन्तक एवं आजसम्मको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दै विगतमा झै यस संस्थालाई सफलताका साथ अगाडी वढाउन आगामी दिनमा पनि यहाँहरुको सल्लाह, सुझाव सहित साथ र सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद !



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
ईमेल-info@jeevanbikasmf.com
Copyright © 2022 JBLBSL