मेरो नाम गहनी देबी चौधरी हो।हाल म झापा जिल्लाको कमल गाउंपालिका वडा नं. ८ मा आफनो परिवारसंग खुशी साथ जीवनयापन गरिरहेकी छु । गरिब र सुकुम्बासी भई जीवन यापन गर्दाको पिडा मलाई राम्ररी थाहा छ । मेरो जन्म ४१ वर्ष अगाडी मोरङ जिल्लाको बाहुनी गा.बि.स. निवासी चौधरी परिवारमा जेठी छोरीको रुपमा भएको थियो। घरमा ६ जना छोराछोरी तथा आमाबुवा गरी ८ जनाको परिवारमा कमाउने मेरो बुवा १ जनामात्र हुदा अभावै अभावको जीवन थियो हाम्रो। पढ्ने रहर हुंदा हुदै पनि जेठी छोरी भएकोले सानै उमेरदेखि अर्काको घरमा मजदुरी गरी जिविका चलाउनु पर्ने बाध्यताबाट पिडित थिए म। ती दिनहरु सम्झिदाआज पनि मेरोआखांबाटआसु झर्छ।
अभाब र गरिबीको जिवनचक्र संगै दिनहरु वित्दै थिए, गाउंको छिमेकी काकीले झापा जिल्ला बसोबास गर्ने मेरो जीवनसाथीको कुरा लिएर मेरोघर आएको दिन आजपनि मलाई सम्झना छ । २०५८ मा मेरो बिवाह कमल गाउंपालिका वडा नं.४ मा बस्ने गणेश चौधरीसंग भयो । बिवाह गरी माइतीबाट विदा भएर आउंदा नयां जीवनको शुरुवात सुखी होला भन्ने धेरै हर्ष थियो भने जिज्ञासा पनि उत्तिकै थिए । कस्तो होला घर, परिवारका मान्छे कस्ता छन यस्तैयस्तै अनेकौ प्रश्नहरु मेरो मानस पटलमा गुन्जिरहेका थिए ।
हामी साझ सम्ममा झापा आइपुग्यौं, घर हेर्दा सानो झुप्रो रहेछ। दुःख त लाग्यो तै पनि आफ्नै घर हो कसैको डर त हुदैन, यसैमा आफ्नो संसार सजाउला भनि चित्त बुझाए । तर केहि दिनमा नै मेरो सपना हुरीले उडाए जस्तै भयो अर्थात थाहा पाए फुसको झुप्रो मात्र पो आफ्नो रहेछ त्यस मुनिको जमिन त अर्कैको रहेछ । जुनैवेला पनि हटाउन सक्ने।
गरिब भए पनि मेरो श्रीमान धेरै मेहेनती हुनुहुन्थ्यो ।तर श्रीमानको मात्र कमाइले घर चलाउन गाह्रो भएपछि म आफुले पनि मजदुरी गर्न शुरु गरे । जीवनको समय चक्र संगै बिहे गरेको ५–६ बर्षमा २ छोरी र १ छोराको जन्म भयो । परिवार संख्या बढ्दै गयो तर आम्दानी बढ्न नसकेकोले घरचलाउन निकै गाह्रो हुन्थ्यो । जसोतसो गुजारा चलिरहेको थियो त्यहि समयमा झन ठूलो समस्या आइलाग्यो, अर्थात जग्गाधनीले मेरो जग्गा खाली गर अब तिमिहरुलाई यहां बस्न नदिने भन्न थाले । जसले गर्दा हाम्रो परिवारमा बज्रपात परे जस्तै भयो । त्यसबेला हामीले केही निर्णय गर्न सकेनौ, श्रीमान श्रीमती रातभरी रुदै बस्यौ । समस्याको उपाय केहि नपाएर छटपटाइ रहेको वेला गांउमा डुल्दै १ जना नचिनेको मान्छे साईकलमा म बसीरहेको ठांउमा आउनुभयो । मलाई नमस्कार दिदी भनी सम्बोधन गर्दा लाज लागेर आएको थियो । उहां जीवन विकासको कर्मचारी हुनुहुदों रहेछ । त्यो दिन उहांले म संग जीवन विकासको सेवा सुबिधाको बारेमा धेरैबेर सम्म कुरा गर्नु भयो । उहांले कुरा गरी रहदां मलाई लाग्यो भगवानले मेरो लागि नै उहांलाई यहां पठाएको होला किनकी उहांले बिनाधितो नै विश्वासको भरमा ऋण दिने कुरा गरिरहनु भएको थियो । मेरो मनमा घरको लागि जग्गा किन्न सकिने रहेछ भन्ने कुरा खेलिरहेको थियो।
त्यसपछि मैले गांउमा साथीहरुसंग कुरा गरी एउटा समुह गठन गर्ने प्रयास गरे । सुरुमा त मलाई कसैले नपत्याउने भएर होला उनीहरु मानेका थिएनन् । तर पछि जीवन विकासको सरले नै सबैलाई जीबन बिकासको बारेमा कुराहरु गर्दा १० जना साथीहरु भेला भई समुह गठन भएको थियो।
पहिलो पटक जीवन विकासबाट रु.१५०००. साधारण ऋण लिएर १.५ कठ्ठा खरिद गरेको जग्गामा अहिले मेरो ३ कोठाको पक्की घर रहेको छ। सुरुबातमा लिएको ऋणले सुकुम्बासीबाट जग्गाधनी बन्न सफल भयौं । मेरो श्रीमान्ले मजदुरी गरी जीवन बिकासको किस्ता तिर्नमा सहयोय गर्नु हुन्थ्यो भने मैले सानोतिनो मजदुरी गरि घरखर्च चलाउन थालिसकेको थिए । दोस्रो पटक रु.३०,०००/- ऋण लिएर मेरो श्रीमानसंग भएको सिपको लागि काठमिस्त्रीको मेसिनहरु किन्ने योजना बनायौं । सोहि अनूरुप मेसिनहरु खरिदगरी उहांले आफै ठेक्कामा सामानहरु बनाउन थाल्नुभयो । तेस्रो पटक रु.५०,०००/- ऋणमा आफुले बचत गरेको रु.२००००/- थप गरि रु.७००००/- मा पुनः ३ कठ्ठा जग्गा खरिद गर्यौ, जून जग्गाको मूल्य अहिले १५ लाखभन्दा बढी भएको छ । जग्गा त भयो तर घर बनाउन बांकि थियो त्यसैले हामीले पुनः ऋण लिएर घर बनाउने निधो गर्यौं । त्यसबेला गाउंमा जीवन विकास जस्तै विना धितो ऋणदिने अन्य संस्थाहरु पनि आइसकेका थिए । गाउंका साथीहरुले ती संस्थामा कारोबार गर्न शुरु गरेका रहेछन् । मेरो मनमा पनि एउटा संस्थामा बसेर यति उन्नती त गरियो अब अरु संस्थामा बसेर ऋण लिएर चांडै प्रगती गर्ने सोच आयो । सोही अनुसार अन्य ३ वटा संस्थामा आबद्ध भएर ऋण निकाले र घर बनाउन शुरु गरे । जीवन विकासबाट पनि पुनः रु.२०००००/- लिएर किराना पसल शुरु गरे । सोचेको थिए अब आफ्नै घर, व्यवसाय जीवन सुखी हूने भो । तर धेरै तिर ऋण भएपछि पसलको आम्दानीले किस्ता तिर्न पुग्न छोड्यो । घरपनि अधुरै रह्यो। समुहमा किस्ता तिर्न समस्या भएपछि साथीभाईले पनि पत्याउन छोडे । तनावै तनाव भयो जीवनमा।
त्यसपछि मैले बुझे धेरैवटा संस्थामा एकै चोटी कारोबार गरेर प्रगती होइन झन भएको सम्पत्ती पनि सकिने रहेछ । त्यसैले लिएको ऋण जसोतसो चुक्ता गरी सबै संस्थाबाट निस्किए र जीवन विकासमा मात्र कारोबार गरे । क्रमशः स्थीति सुधार हूदै गयो । फेरी जीवन विकासबाटै ऋण लिएर अधुरो रहेको घर पुरा गरे । श्रीमानलाई कामको सिलसिलामा आवतजावत गर्न सजिलो होस नि मोटरसाइकल किन्यौ । मैलै किराना पसललाई बढाउदै लगे । अहिले श्रीमान मिस्त्री कामबाट मासिक ४० हजार जति कमाउनु हुन्छ, म पनि किराना पसलबाट राम्रोआम्दानी गरिरहेकी छु। छोराछोरी राम्ररी पढि रहेका छन्।
जीवन विकासले सहि बाटो देखाउनुको साथै आबश्यक सहयोग गरेका कारण आज मेरो परिवारमा खुशीको पलहरु छाएका छन् । ऋणले मानिसको जीवनमा आमुल परिवर्तन ल्याउन सक्दो रहेछ तर चलाउन नजाने र क्षमता भन्दा बढी ऋण चलाउन खोजे जटिल परिस्थीति पनि आउन सक्ने रहेछ भन्ने मेरो ठूलो भोगाइ छ । मेरो परिवारलाई खुशी र सुखी बनाउन भगवानको प्रतिक भएर नमस्कार दिदी भनी सम्बोधन गर्दै मेरो गाउंमा आउने जीवन विकासका ती कर्मचारीलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।
मधुसुदन मण्डल
लेखन / संकलन



सम्पर्क

फोन नं.
९८०२७९६१९६
९७७-०२१-४४२६६२
इमेल-info@jeevanbikasmf.com